नेतृत्वले गलत गर्दा प्रश्न गर्ने हिम्मत गरौं: गगन थापा

राष्ट्रिय

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वले चुनावमा गठबन्धन गरेर गल्ती गरेको बताएका छन्।

दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि भनेर सोमबार राखिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले माथिदेखि तलसम्म कांग्रेसका मान्छेलाई हँसिया हतौडामा भोट हाल्न लगाउने निर्णय गलत भएको बताएका हुन्।

‘नेतृत्वले कहाँ गल्ती गर्‍यो भने कांग्रेसको मान्छेलाई हँसिया हतौडा र कलममा भोट हाल्न लगाउने कुरा कांग्रेसको गल्ती थियो,’ उनले भने, ‘गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके मात्रै पार्टीलाई ठीक ठाउँमा उभ्याउन सकिन्छ।’

पार्टीभित्र अझै पनि परम्परागत सोच र चिन्तन हाबी रहेको भन्दै उनले केहीको वर्षाैंदेखि पार्टी जसरी चल्दै आएको छ त्यसैगरी चल्नुपर्छ भन्ने मान्यता सही नभएको बताए।

‘कतिपयलाई आज पनि यी केटाहरू जान्ने भएर आएर यसरी पार्टी चल्दैन भन्ने लाग्दो रहेछ,’ उनले भने, ‘हिजोकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौं भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने दिन आउने छ।’

नेपाली कांग्रेसलाई बदल्न जरूरी रहेको भन्दै महामन्त्री थापाले कांग्रेसलाई बदल्न सबै बदलिनु जरूरी रहेको बताए।

त्यसका लागि निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको उनको धारणा थियो। समानुपातिक निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष मात्रै राख्नुपर्ने र प्रत्यक्षलाई समावेशी बनाउनुपर्ने उनको भनाइ थियो।

त्यसो गर्दा कोहीसँग गठबन्धन गर्न नपर्ने उनले बताए।

‘पार्टीबाट काबिल मान्छेलाई मन्त्री बनाऔं,’ उनले भने, ‘पार्टीभित्र माथिदेखि तलसम्म भएका सबै गुट भत्काऔं।’

पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै गर्नुपर्ने उनले बताए। धेरै समय पार्टी र जनप्रतिनिधिको बीचको सम्बन्ध मजबुत राखेर काम गर्नुपर्ने र त्यसका लागि लिनुपर्ने नीतिका बारेमा पार्टीले तयार पारेको घोषणापत्रका आधारमा काम गर्न जरूरी रहेको उनले बताए।

त्यस्तै, उनले पार्टी नेतृत्वलाई गाली गरेर पार्टी नबन्ने तर्क गर्दै तर पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थनमा तालीमात्रै बजाउँदा पनि पार्टी नबन्ने स्पष्ट पारे।

‘गलत निर्णयविरूद्ध आवाज उठाउन सक्नुपर्छ,’ उनले भने ‘गाली गरेर कांग्रेस अग्लो हुँदैन तर, नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी बन्दैन ।’

नेतृत्वले गरेका गलत कामका विरुद्ध प्रश्न गर्न आँट गर्नुपर्ने उनको भनाइ थियो।

‘नेतृत्वले गल्ती गर्दा यहाँनेर गल्ती भयो भनेर बोल्न सक्नुपर्छ,’ उनले भने, ‘पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ। पार्टीलाई ठीक ठाउँमा उभ्याउन सक्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *