बुटवलको कालिकापथमा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार, तीनजना पक्राउ

राष्ट्रिय

बुटवलको कालिकापथमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएपछि स्थानीय त्रसित भएका छन् । प्रहरीले केही युवालाई पक्राउ गरेकाे छ।

बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहारबाट युवा निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका थिए । घाइतेको उनको टाउकोमा ६० वटा टाँका लगाइएको छ। कालिकापथमा बुटवल उपमहानगरपालिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने बताइरहेको छ। अहिले पनि कालिकापथमा खासगरी रात्रिकालीन व्यवसाय जम्ने गर्दछ। तर दिउँसै युवामाथि सडकमा खुलमखुला खुकुरी प्रहार भएपछि सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ।

रात्रिकालीन बजार चलेकै अवस्थामा युवाबीच हानाहान भइरहेको कालिकापथमा दिउँसो पनि युवा समूहले खुकुरी प्रहार गर्नुले बुटवलको सुरक्षा व्यवस्थाप्रति सबैले प्रश्न उठाएका छन्। दिउँसै खुकुरी नचाउँदै सडकमा हानाहान गर्नुले बुटवलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको स्थानीय हरि अर्यालले बताए। नागरिकमा त्रास पैदा गरेको भन्दै सुरक्षाको प्रत्याभूति दिन उनले प्रहरी गम्भीर भएर लाग्नुपर्ने बताए।

सामान्य विवादले उग्र रूप लिएपछि खत्रीमाथि ३ युवा जाइलागेका थिए। इलाका प्रहरी कार्यालयका अनुसार खत्रीलाई आक्रमण गरेको आरोपमा फलफूल व्यवसायी अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवरलाई नियन्त्रणमा लिइएको छ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले खत्रीमाथि आक्रमण गर्ने अन्य घटनापछि फरार रहेका र उनीहरूको खोजी भइरहेको बताए।

आइतबार पक्राउ परेका तीनै जनालाई शरीर अंगभंग अभियोगमा मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । अन्य युवा भने फरार छन् ।थापाका अनुसार निर्माणाधीन बुटवलको कालिका पथ सडकमा कालीगण्डकी निर्माण कम्पनीका सञ्चालक डिबी खत्रीले बिहीबार साँझ सडक पीच गर्नका लागि कालोपत्रे लगाएर राखेका थिए ।निर्माण सम्पन्न नहुँदासम्मका लागि सवारी साधन चल्न रोक लगाइएको भएपनि स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक चढाएपछि सडक भत्किएको थियो । भत्किएको सडकमा निर्माण व्यवसायी खत्रीले कादरीलाई क्षति दिनुपर्ने माग गरेपछि कादरीले शुक्रवार लिन घर बोलाएका थिए ।

सहमति अनुसार रकम लिन गएका खत्रीका छोरा निर्मल खत्रीलाई कादरीले ३० जना भन्दा बढी युवा बोलाएर कुटपिट गर्दै चक्कु प्रहार गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *