बुथ कब्जा,बाकस साट्ने र मतपत्र च्यात्नेहरुको सहयोगी नबन्न प्रहरी प्रशासनलाई ओलीको आग्रह

राष्ट्रिय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी प्रशासनलाई निर्वाचनमा धाधँली गर्ने खालका क्रियाकलापमा सरिक नहुन आग्रह गरेका छन् ।

नेकपा एमाले सुनसरी‌ ३ क्षेत्रिय समन्वय समितिको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मचाउने, धाधँली गर्ने खालका क्रियाकलापमा प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरु निकायका व्यीक्तहरु सरिक नहुन आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले यस्ता गतिविधिमा प्रहरी अधिकृतहरु सरिक नहुनेमा आफु विश्वस्त रहेको बताए ।

उनले भने,’यस क्षेत्र यसभन्दा अगाडि दुई पटक भगवती चौधरीले जित्नुभएको छ। तर हार घोषणा गरिएको छ । प्रहरी प्रशासन लगाएर राज्यशक्तिको दुरुप्रयोग गरेर बाकस साटेर हार घोषणा गराइएको छ । प्रशासन प्रहरीका अधिकृत सबै तहका साथीहरुलाई आग्रह गर्न चाहान्छु, तपाईहरु कुनै पार्टी विशेषको सपथ खाएको, पार्टी विशेषको कार्यकर्ता होइन, राष्ट्र सेवक हो । त्यसकारण राष्ट्र सेवकको हैसियतले भूमिका खेल्नुपर्छ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने खालका बुथ कब्जा गर्ने खालका अशान्ति मचाउने खालका धाधली गर्ने खालका कुनै पनि क्रियाकलापमा प्रहरी प्रशासन राज्य संयन्त्रका कुनै पनि अंग र ती अंग का व्यक्तिहरु निकायका व्यक्तिहरु सरिक हुने छैनन् । सामेल हुने छैन भन्ने मैले विश्वास लिएको छ। र त्यसो नगर्न सबैलाई आग्रह गर्दछु ।’

उनले नेकपा एमाले गड्यौला जस्तो नभई सर्प बन्न समेत निर्देशन दिएका छन् ।

उनले भने,‘ नेता कार्यकर्ताहरुलाई भन्न चाहन्छु एमाले गड्यौला हुने होइन यसो मुखमा छोयो भने पछाडि फर्कने दुईवटा दाँत भएको डस्न सक्ने पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने हामी जनताको मतको रक्षा गर्ने आफनै मतको रक्षा गर्ने जनताको सार्वभौम अधिकारको रक्षा गर्ने हुनुपर्छ । पैसाको प्रलोभनमा पर्नु हुदैन । ’

उनले नेकपा एमालेले मंसिर ४ पछि बहुमतको सरकार बनाउने दाबी गरे । भने,‘ बहुमतको सरकार बनाउँनै पर्छ । यो देश एक वर्षमा गठबन्धनले कंगाल बनाउन लागिसक्यो । एक वर्षमा विकासका आयोजना कतौटी गरेर बेहाल बनाएको छ। ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *