मोरङमा एकैदिन दुई सामूहिक बलात्कार, तीन पक्राउ केहि फरार

राष्ट्रिय

मोरङका बेग्लाबेग्लै स्थानमा बिहीबार राति दुई महिलामाथि सामूहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा सामूहिक बलात्कार भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा १८ वर्षीया किशोरी माथी ५ जनाले सामूहिक बलात्कार गरेका थिए । केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेर पुगेको समूहले किशोरीलाई कुटपिट गरी सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

राति ९ः३० बजेतिर आएका पाँच जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । युवक भने उम्किएर भागेका थिए भने किशोरीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले बताएको छ ।

पीडितले किटानी जाहेरी दिएपछि विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डल पक्राउ परेका छन् । घटनामा संलग्न अरु चार जना फरार छन् । फरारको खोजी भइरहेको प्रहरीले बताएको छ ।

मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ । राति १० बजे अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै युवाले घरबाट काम छ भन्दै बोलाएर घर नजिकै खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न भएको आरोपमा जहदा–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि करण सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *