आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण गरेको छ। आयोगमा १२० दलले निर्वाचनमा सहभागी हुन आवेदन दिएकोमा १०२ दललाई एकल रूपमा चिन्ह प्रदान गरिएको छ। संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने १२ दललाई संयुक्त चुनाव चिन्ह दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
कुल १४३ राजनीतिक दलमध्ये ११४ दलले निर्वाचनमा भाग लिनेछन्। आयोगका अनुसार यस पटक चुनावमा १०७ प्रकारका चिन्ह प्रयोग हुनेछन्।
चुनाव चिह्न सूचीमा सूर्य पहिलो नम्बरमा, रुख दोस्रो, तारा तेस्रो र घण्टी चौथो नम्बरमा राखिएको छ। हलो, ढल्केको छाता, लाउड स्पिकर, सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको आँखा, जरायो, दुई हात जोडिएको नमस्कार लगायतका चिन्ह पनि समावेश छन्।
यसैगरी, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हसियाँ–तारा, कमलको फूल, उल्टो धनुष, गितार, घर, हसिँया, मोटरसाइकल, साँचो, मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी समेत चुनाव चिन्हका रूपमा रहनेछन्।
तुलसी मठ, गाग्री, ब्याट्री, काँधमा ढुङ्गा बोकिरहेको व्यक्ति, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलो घेराभित्र शंख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा बोकेको आमा, चिट्ठी बोकेको परेवा, अँजुलीको माटो, बाली बोकेको महिला, कोदालो बोकेको किसान, त्रिशूल, घोडा, गुलाफको फूल, कोरिएको गाग्रो, कम्प्युटर किबोर्ड, २४ किल्ला भएको चक्र, हात मिलाएको चिन्ह तथा चापाकल पनि सूचीमा छन्।
यस्तै, बिजुलीको चिम, सिट्ठी, प्रेम सूचक चिन्ह, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीन ढुङ्गे अधिनो, ढुङ्गे धारा, गदा, भेडा, चश्मा, दिवो, बस, स्कुटर र पाँचमुखे रुद्राक्ष पनि प्रयोग हुनेछन्।
दुई पैताला छाप, करुवा, षट्कोण, सुकुन्दा, पुल, चकिया, तीन पात भएको बिरुवा, पानीको बोतल, बुल्डोजर, सिउने कल, हात मिलाएको पुरुष–महिला, तराजु, खरायो, जुत्ता, खुला किताब, खुलेको ताला, कान, श्रीवत्स प्रतीक, लाइक बोकेको हात, कोदालो, मकैका बाला, दुई औँला देखाइएको हात, जगर भएको सिंह, डुङ्गा र भैँसी पनि यसपालिको चुनाव चिह्न सूचीमा समावेश छन्।
