अक्षयनवमी र चिसो मौसमको गुणकारी फल अमला

धर्म -संस्कृति

पृथ्वी आफ्नो अक्ष र कक्षमा निरन्तर गतिशील रही सूर्यको परिक्रमा गर्छ । यसो गर्दा दिन र रातको चक्र निर्मित हुन्छ । पृथ्वीलाई आफ्नो अक्षमा पूर्ण परिक्रमा गर्ने अवधिलाई एक दिन भनिन्छ । यसैगरी पृथ्वीलाई यसको एक मात्र उपग्रह चन्द्रमाले आफ्नो अक्ष र कक्षमा निरन्तर गतिशील रही परिक्रमा गर्छ ।

चन्द्रमाले पृथ्वीलाई आफ्नो अक्षमा गरेको एक पूर्ण परिक्रमाको अवधिलाई तिथि र कक्षमा गरेको एक पूर्ण परिक्रमाको अवधिलाई चन्द्रमास भनिन्छ । अर्थात् चन्द्रमालाई एक पूर्ण कलाबाट अर्को पूर्ण कलासम्म लाग्ने समयलाई चन्द्रमास भनिन्छ । एक पूर्ण चन्द्र परिक्रमा अर्थात् एक चन्द्रमास कृष्णपक्ष र शुक्लपक्ष गरी दुई पक्षमा विभाजित छ, जो १५/१५ दिनको हुन्छ ।

संस्कृत भाषामा यो १५ दिने तिथिहरू क्रमशः प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी र अमावस्या (कृष्णपक्ष) तथा पूर्णिमा (शुक्लपक्ष) कहलाउँछन् । चन्द्रमासका प्रायः सबै तिथि विशेष चाडपर्वहरूका लागि समर्पित छन् ।

जसमा सिरुवा, कृष्ण जन्माष्टमी, दसैँ, दीपावली, छठ, हरिबोधिनी (देवउठनी, प्रबोधिनी) एकादशी, लवान पावैन, सामाचकेवा, विवाह पञ्चमी, होली, रामनवमी आदि प्रमुख छन् । यी चाडपर्व प्रकृति, ऋतु, वनस्पति, धार्मिक आदि मान्यताहरूसँग जोडिएका छन् र यी चाडपर्वहरू विभिन्न प्रकारका पूजा, अनुष्ठान, उपवास, भोजन, मनोरञ्जनका साथ मनाइन्छ ।

यी पर्वहरू कुनै न कुनै तिथिका लागि सुनिश्चित गरिएका छन् । यस आलेखमा छठ पूजा लगत्तै मनाइने ‘अक्षयनवमी’ को विषयका विधि व्यवहारबारेको जानकारी एकत्रित गर्ने प्रयास गरिएको छ ।

सनातन संस्कृतिमा तृतीया र नवमी तिथिमा अक्षय शब्द जोडिएर नामकृत गरिएको दुईवटा पर्व अक्षयतृतीया र अक्षयनवमी पाइन्छ । संस्कृतमा अक्षय शब्दको अर्थ ‘समृद्धि, आशा, आनन्द वा सफलता’ को अर्थमा ‘कहिल्यै नओइलाउने’ हो । तृतीया र नवमी भनेको चन्द्रमासको १५ दिने पक्षको तेस्रो (तृतीया) र नवौँ (नवमी) दिन भन्ने बुझिन्छ । यी दुवै पर्व भगवान् विष्णुप्रति समर्पित छन् ।

अक्षयतृतीया पर्व वैशाख शुक्ल तृतीयाको दिन भगवान् विष्णुको उपासनामा मनाइन्छ । अक्षयतृतीयालाई अपभ्रंश रूपमा ‘आखा तीज’ पनि भनिन्छ । अक्षयतृतीयाको दिन सतयुग प्रारम्भ भएको मानिन्छ । यस तिथिमा विशेष स्नान, पूजा, दान आदिको माहात्म्य छ । यदि यस तिथिमा कृतिका वा रोहिणी नक्षत्र परेको रहेछ भने अत्यन्तै शुभ ठानिन्छ ।

अक्षयनवमी पर्व कार्तिक शुक्ल पक्षको नवमी तिथिमा मनाइन्छ । अक्षयनवमी पर्व पनि भगवान् विष्णुको उपासनाका लागि नै मनाइन्छ । यस दिन भगवानको पूजा एवं दानको पारम्परिक कृत्य त गरिन्छ नै तर यस पर्वको विशिष्टता अमला वृक्षको पूजा हो । यसै तिथिमा त्रेता युगको उत्पत्ति भएको मानिन्छ ।

मिथिलामा कार्तिक शुक्ल नवमी मुख्य रूपमा अक्षयनवमीका रूपमा मनाइन्छ, जसमा अमला वृक्षलाई लक्ष्य गरी विभिन्न आराधना एवम् अनुष्ठान सम्पन्न गरिन्छ ।

यसैगरी, माघ शुक्लपक्षको नवमीलाई महानन्दा नवमी र चैत्र शुक्लपक्षको नवमीलाई रामनवमीको रूपमा मनाइन्छ । चैत्र शुक्ल नवमी भगवान् श्रीरामको जन्मदिन हो । यो पर्व चैत्र नवरात्रामा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्यशक्ति नवदुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामद्वारा दानवीय प्रवृत्तिका लङ्का नरेश रावणको अन्त्य गरी संसारको उद्धार गरिएको सम्झनामा यो पर्व मनाइन्छ ।

यस पर्वलाई कुष्माण्डा नवमी पनि भनिन्छ । कात्तिक शुक्ल नवमीकै दिन द्वापरयुगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंशवध गर्नुपूर्व मथुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड पर्व मनाइन्छ ।

तर मिथिलामा कार्तिक शुक्ल नवमी मुख्य रूपमा अक्षयनवमीका रूपमा मनाइन्छ, जसमा अमला वृक्षलाई लक्ष्य गरी विभिन्न आराधना एवम् अनुष्ठान सम्पन्न गरिन्छ । मिथिलामा अमलालाई धातृ भन्ने गरेको हुनाले मैथिलहरू यस पर्वलाई धातृनवमी पनि भन्दछन् ।

अक्षय शब्दको अर्थ जसको क्षय हुँदैन भन्ने हो । प्रासंगिक अर्थमा भन्दा एक त्यस्तो योग, जसमा गरिएको सत्कर्मको पुण्य कहिल्यै सकिँदैन । अक्षयनवमीको दिनमा मानिसहरू विभिन्न अनुष्ठानमा संलग्न हुन्छन् । यस दिन भक्तजनहरूले उपवास बस्छन् र अमलाको रूखको पूजा गर्छन् । यो पवित्र दिन अक्षय तृतीया जत्तिकै महत्वपूर्ण छ । अमलाको आफ्नो महत्वकै कारण अमालिका एकादशी पनि मनाइन्छ ।

सनातन संस्कृतिमा वृक्ष पूजा र परिक्रमा गर्नुको ठुलो आध्यात्मिक महत्त्व छ । मानिस र अन्य जीवहरूका लागि वृक्षको महत्त्व वर्णन गर्न साध्य छैन । वृक्ष, वन जङ्गलदेखि समाजको निकटतम सम्बन्ध रहेको छ । वन नै जीवन हो भन्दा अत्युक्ति हुँदैन हो । वनस्पतिको अस्तित्वसँग सम्पूर्ण जीवको अस्तित्व जोडिएको छ ।

वृक्षको जरा, काण्ड, पात, फूल, फल अर्थात् एक वृक्षले आफूलाई सम्पूर्ण रूपमा मानिसको जन्मदेखि मृत्युसम्मका आवश्यकता पूर्तिमा न्यौछावर गर्छ । वृक्षको पनि जीवन हुन्छ । वृक्ष पनि संवेदनशील हुन्छन्, र वृक्षको भावनाले मानिसको जीवनलाई प्रभावित गर्छ । पीपल र बरका वृक्षहरू अद्वितीय र विशिष्ट छन् ।

अक्षयनवमीमा भगवान् विष्णु र शिव अमलाको वृक्षमा निवास गर्छन् भन्ने मान्यता छ । यस दिन भक्तहरूले भगवान् विष्णुको पूजा गर्छन् ।

पृथ्वीमा तिनीहरूको उपस्थितिले मात्र पृथ्वीको वातावरणको रक्षा गर्छ । यो तथ्य जानेपछि हाम्रा पूर्वजहरूले यी वृक्षहरूको संरक्षण वृक्षपूजनको संस्कृति र परम्परा बसाले । खासगरी, अक्षयनवमीको दिन अमला वृक्षको पूजा गर्नाले सुख, धन र स्वास्थ्य प्राप्त हुन्छ । भनिन्छ कि यस दिन गरिएको जप, तपस्या र दानले सबै पापबाट मुक्ति पाउँछ ।

यस दिन सनातनीहरूले सामूहिक रूपमा अमलाको वृक्ष मुनिको क्षेत्र सफा र सिञ्चित गरी अमला वृक्षलाई बेसार, अक्षता र कुमकुम वा सिन्दूरले पूजा गर्छन् । पूजासँगै अमला वृक्षको सात पटक परिक्रमा गर्छन् । तत्पश्चात वृक्षमुनि नै भोजन पकाई वृक्षदेवतालाई भोग लगाई तत्पश्चात प्रसादको रूपमा ग्रहण गर्छन् । साँझमा, अमलाको वृक्षमुनि दीप बाल्दछन् ।

अक्षयनवमीमा भगवान् विष्णु र शिव अमलाको वृक्षमा निवास गर्छन् भन्ने मान्यता छ । यस दिन भक्तहरूले भगवान् विष्णुको पूजा गर्छन् । एक पटक माता लक्ष्मी धरतीमा भ्रमण गर्न आइन् । तब भगवान् विष्णु र भगवान् शिव दुवैको संयुक्त पूजा गर्ने विचार उनको मनमा आयो । उनले दुवैको पूजा एकसाथ कसरी सम्भव हुन्छ भनी विचार गर्न थालिन् ।

भगवान् विष्णुलाई तुलसी प्रिय छ र भगवान् शिवलाई बेलपत्र प्रिय छ तर अमला वृक्षमा दुवैको वास भएकोले उनले अमला वृक्षमुनि दुवैको पूजा गर्ने निधो गरिन् । माता लक्ष्मीले अमलालाई विष्णु र शिवको प्रतीकको रूपमा पूजा गर्न थालिन् । पूजाबाट प्रसन्न भएर भगवान् विष्णु र शिव प्रकट भए । माता लक्ष्मीले अमला वृक्षमुनि भोजन पकाई भगवान् विष्णु र भगवान् शिवलाई खुवाई आफूले पनि खाइन् । यो घटना भएको दिन कार्तिक शुक्ल नवमी थियो । यो परम्परा त्यही समयदेखि चल्दै आएको मानिन्छ ।

एक अर्को पौराणिक कथा अनुसार, अमलाको वृक्ष भगवान् विष्णुको शरीरबाट उत्पन्न भयो । जब भगवान् विष्णुले वामनको रूप धारण गरे, उनले राजा बलिसँग तीन पाइला भूमि मागे । राजा बलिले उनलाई तीन पाइला दिने वाचा गरे, तर भगवान् विष्णुले सम्पूर्ण भूमि तीन पाइलामा नापे र राजा बलिलाई पातालमा पठाए ।

राजा बलिकी पत्नी विन्ध्यवलीले आफ्नो पतिको मुक्तिको लागि भगवान् विष्णुलाई प्रार्थना गरे । भगवान् विष्णुले उनलाई वरदान दिए कि अमलाको वृक्षको पूजा गर्नाले राजा बलिलाई मुक्ति मिल्नेछ । त्यसबेलादेखि, यस पवित्र दिनमा अमलाको रूखको पूजा गर्ने परम्परा रहेको छ ।

खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एकाबिहानै वनक्षेत्रका विभिन्न उद्यान र वनभोजस्थल पुग्ने गर्छन् । यस दिन सामाजिक सहभोजको चलन पनि छ । सहभोज भनेको विभिन्न वर्ण र जातिका मानिसहरू एक साथ बसेर भोजन गर्नु नै सहभोज हो । यो एक सामूहिक भोजन हो, जसमा विभिन्न जाति वा सम्प्रदायका मानिसहरू समाजमा विद्यमान उँचनिचको भावना हटाउन, परस्पर सम्बन्धलाई गाढा बनाउन वा विविध कारणले उत्पन्न आपसी मतभेद हटाउन सहभोजमा सम्मिलित हुन्छन् ।

यस दिन अमला सेवन गर्नुपर्छ । यदि अक्षयनवमीमा अमलाको पूजा गर्न र अमलाको वृक्षमुनि बसेर खाना तयार गरेर खान सम्भव छैन भने यस दिन अमला सेवन गर्दा पनि हुन्छ । यो पर्वमा अनिवार्य रूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा रहेको छ । यस दिन अमला दान गर्ने चलन पनि छ । यो पनि विश्वास गरिन्छ कि अक्षय नवमीमा गरिएको पुण्य कर्मले सबैलाई चिरस्थायी फल र देवी लक्ष्मीको आशीर्वाद दिन्छ ।

कार्तिक मासमा अमलाको सेवन गर्नुमा अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको छ ।

धेरै मानिसहरू यस दिन व्रत बस्छन् र व्रत कथा सुन्छन् । केही वा सम्पूर्ण भोजन, पेय वा दुइटै त्याग गरी आराध्यदेवको चिन्तन गर्नु नै उपवास हो । उपवास पूर्ण वा आंशिक हुन् सक्छ । यो धेरै सानो अवधिदेखि लिएर महिनौँसम्म पनि हुन सक्छ । उपवासका अनेक रूप छन् । धार्मिक एवं आध्यात्मिक साधनाका रूपमा प्रागैतिहासिक कालदेखि नै उपवासको प्रचलन रहेको छ ।

चरक संहितामा भनिएको छ– ‘धात्रीफल विभूषितः । धात्रीफल कृताहारो नरो नारायणो भवेत ।’ अर्थात् सुकेको अमला पनि यदि कसैले सेवन गर्छ भने उसलाई नारायणको पदवी प्राप्त हुन्छ । चरक संहिताका अनुसार अक्षयनवमीमा अमला खाँदा शरीर स्वस्थ रहन्छ । यदि अक्षयनवमीमा अमलाको पूजा गरेर वृक्ष मुनि बसेर खाना पकाएर खान सम्भव छैन भने यस दिन अमला खानुपर्छ ।

कार्तिक मासमा अमलाको सेवन गर्नुमा अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको छ । वैज्ञानिक अध्ययन अनुसार अमला भिटामिन ‘सी’को मुख्य स्रोत हो । यो प्रसिद्ध आयुर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने, सुन्निएको कलेजो, पाइल्स र पेटसम्बन्धी सिकायतहरूमा फाइदा गर्छ ।

भनिन्छ, तीनवटा सुन्तलामा भन्दा एकवटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको वृक्षको फेदमा छायामा बसेर खानाले मात्रै पनि अनेक रोगहरू निको हुन्छ । अमलामा विभिन्न रोगहरू निको पार्ने क्षमता हुन्छ । यसलाई सुख्खा चूर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ ।

अमलाको फल खाना पचाउने, रक्तअल्पत्ता, कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ, भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यसको फल नै उपयोगी अङ्ग हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *