काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

राष्ट्रिय शिक्षा/स्वास्थ्य

जेठ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।

कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत आगामी वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत उक्त सेवा प्रदान गर्ने कामपाको तयारी छ ।

अहिले कामपालगायत देशको सबै स्थानीय तहहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । कामपाले आफ्नो नीति तथा कार्यक्रमा नै उक्त विषय समेटेर आगामी आवदेखि कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिए ।

वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत कामपाले खटाएका नर्सले सेवा दिनेछन् ।

एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले उक्त कार्यक्रम कामपाको आठवटा विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ । यसलाई बढाएर कामपाले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो ।

उक्त कार्यत्रमसँगै कामपाले आगामी आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *