काठमाडौं सीडीओ कार्यालयको पार्किङको समस्या समाधान

राष्ट्रिय

जिल्ला प्रशासन कार्यालय काठमाडौं आउने सेवाग्राहीले सो कार्यालय भित्र मोटरसाइकल पार्किङ गर्न नपाउदा कार्यालय अघिल्तिर बाटोमा मोटरसाइकल पार्किङ गर्न बाध्य थिए ।यसरी बाटोमा पार्किङ गर्दा महानगरपालिकाले ट्रकमा उठाएर लैजाँदा सेवाग्राहीले झन्झट व्यहोर्ने गरेका थिए । तर, अब सो झन्झट नहुनेगरी पार्किङ व्यवस्थापन गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीले अब सोही कार्यालयमा पार्किङ गर्न पाउनेछन् । सीडीओ कार्यालयमा कार्यरत सरकारी कर्मचारी र बाहिरबाट आउने सरकारी सवारी साधन सँगै रहेको जल तथा मौसम विज्ञान विभागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले सवारी पार्किङ गर्न नपाउँदा सडकमै राख्ने गरेका थिए । सिंहदरबार तर्फबाट बबरमहलतर्फ निस्कने साँघुरो सडकमा पार्किङ निषेध गरिएको हुनाले महानगरले सवारी साधन उठाएर लैजाने गरेको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको कमाण्ड समालेपछि डीआईजी चौधरीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र मौसम विज्ञान विभागका प्रमुखसँग समन्वय गरेर सो समस्या समाधान गरेकी हुन् ।

जल तथा मौसम विज्ञान विभागले आफ्नो पार्किङ एरियामा सरकारी नम्बर प्लेटका सवारी साधनलाई पार्किङ सुविधा दिन सहमत भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले मौसम विज्ञान विभागमा र सीडीओ कार्यालयमा आउने सेवाग्राहीले सो कार्यालय भित्रको पार्किङ स्पेशमा पार्किङ गर्न पाउने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *