आज मिति २०७९।०७।२६ गते काठमाडौं पेप्सीकोला फूटबल ग्राउण्डमा क्र्रस खुकुरी चुनाव चिन्ह लिएर उम्मेदवारी दिने काठमाडौं उपत्यकाका तिन जिल्लाका उम्मेदवारहरुको बृहत आमसभा सम्पन्न भएको छ । सभामा सम्बोधन गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले क्र्रस खुकुरी चुनाव चिन्ह लिएर राजनैतिक दर्शन र विचार सहित देशै भरिबाट सञ्जालका तर्फबाट स्वतन्त्रहरुले उम्मेदवारी दिएको बताउनुभयो । मुलुकमा पटक पटक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नहुनु र आम नागरिकहरुमा निराशा बढ्नुमा मुलुकको संविधान जारी गर्दा, ऐन कानुनहरु निर्माण गर्दा जनताको हित भन्दा पनि सिमित दल र नेतामुखी नियम कानुन बनाइएको र सम्झौतामा जनताको इच्छा चाहना विपरितका धाराहरु संविधानमा राखीएकाले परिवर्तन र व्यवस्था परिवर्तन अपुरो भएकाले जनताले सोचेको परिवर्तन नभएको बताउँदै संविधानमा भएका गलत व्यवस्था खारेज गर्दै मुलुकलाई निकाश दिन संविधान संशोधन हुनपर्ने बताउनुभयो । नेपालका राजनैतिक दल र नेता हरुले वर्तमान विकृत संसदिय प्रणाली र आफू अनकुल चलखेल गर्न सक्ने प्रथा राखी लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गरेको साथै राजनैतिक आवरणमा अन्याय, अत्याचार र भष्टाचार बढाएको र आफूहरु त्यसबाट बच्नको लागि संविधानको रक्षागर्ने भन्दै चुनावमा भोट मागिरहेका तर क्र्रस खुकुरी चुनाव चिन्ह लिने स्वतन्त्रहरुले नेपालको संविधानको गलत व्यवस्थाहरु खारेज गर्दै संविधान संशोधन गर्नुपर्ने, खर्चिलो प्रदेशहरु, कसैको पनि बहुमत नआउने समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने, अख्तियार लगाएत सबै निकायमा दलका कार्यकर्ता नियुक्ति अन्त्य गर्न र राजनैतिक नियुक्तिहरु खारेज गरि सक्षम व्यक्ति मात्र पुग्ने व्यवस्था गर्नुपर्ने साथसाथै २०४६ साल पछिका भष्टाचारीलाई कार्वाही गर्न शक्तिसाली भष्टाचार नियन्त्रण आयोग गठन गर्नुपर्ने बताउनु भयो । छिमेकी मुलुक भारतमा २८ लाख जनता बराबर एक जना सांसद भएको तर हाम्रो मुलुक नेपालमा एक लाख नौ हजार जनसंख्या बराबर एकजना सांसद भएकाले नेपालका तलदेखि माथिसम्म राजनैतिक पदै पद ज्यादा भएकाले संख्या कम हुनुपर्ने बताउँदै अब स्वतन्त्रहरुले मात्र परिवर्तनको मार्ग चित्र तयार गरी यो देशमा शान्ति पूर्ण तबरले गलत व्यवस्थालाई सही व्यवस्थामा रुपान्तरण गर्ने हुँदा क्र्रस खुकुरी चुनाव चिन्ह लिएर उठने सबै उम्मेदवार र अन्य स्वतन्त्रहरुलाई विजय गराउँन हार्दिक आवहान गर्नुभयो । यही संवैधानिक व्यवस्थामा कसैको पनि बहुमत नआउने शासन सत्ता सधै अस्थिर हुने भष्टाचार र दण्ड हिनता बढ्ने हुनाले जनतामा झन् झन् निराशा बढ्ने हुनाले यस्ता गलत व्यवस्थाहरु सुधार गर्न स्वतन्त्रहरु मात्र लाग्ने हुनाले परिवर्तको लागि स्वतन्त्रहरुलाई जिताउनु पर्ने बताउदै मुलुकमा विधि र कानुनको शासन कायम हुनपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै आमसभा आयोजक काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार अनुप बोहराले क्षेत्र नं. २ मा पटक पटक चुनाव जिति प्रधानमन्त्री भएको यसै क्षेत्रबाट राष्टपति हुँदा समेत यस क्षेत्र विकासमा पछाडी परेको बताउँदै आफू संसदमा पुगी गलत कानुन खारेज गर्दै सही निति नियम र सुशासन र समृद्धिको लागि सही कानुन निर्माणमा केन्द्रित रहने ठूला ठूला विकाश पुर्वाधारमा केन्द्रित रहने, काठमाडौं उपत्यकाभरी पाँच वर्ष भित्र सडक जाम अत्य गर्न पुर्वाधार निर्माण गर्न भूमिका खेल्ने र समयमा विकास निर्माण सम्पन्न नगर्ने र भष्टाचार गर्नेलाई ठाउँको ठाउँ कार्वाही गर्न निति निर्माणमा भूमिका खेल्ने र क्षेत्र नं. २ र नेपालीहरुको इच्छा चाहना र सरसल्लाह, सुझाब बमोजिमका कार्य गर्ने बताउनुभयो ।
ललितपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार डा. दिपेश के. सी. ले मंसीर ४ गतेको चुनाव सत्य र असत्यहरुको प्रतिसपर्धा भएकोले सत्यको लागि, न्यायको लागि, अन्याय अत्याचार र विभेद हटाउँनको लागि क्र्रस खुकुरी चुनाव चिन्ह लिने सबै उम्मेदवारहरुलाई जिताउनु पर्ने बताउँनु भयो । नेपालमा बैदेशिक हस्तक्षेप बढ्दै गएको र नेपाली संस्कृति र नेपालीपन मेटने सडयन्त्र बढ्दै गएकाले र हिमाल पहाड र तराइका सबै नेपालीलाई एउँटै मालामा उन्न नेपालको कला संस्कृति भाषा सम्पदाको रक्षा गर्नुपर्ने बताउँदै स्वतन्त्रहरु आएर भष्टाचारीहरुलाई कार्वाही गर्नुपर्ने बताउनुभयो । अब संसदमा मुसाहरुलाई होइन सत्य र न्यायको लागि लड्ने र सिँहको जस्तो आवाज उठाउन सक्ने र मौरी जस्तो काम गर्न सक्ने स्वतन्त्रहरुलाई संसदमा पठाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा क्र्रस खुकुरी चुनाव चिन्ह लिएर उम्मेदवारी दिने काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार इन्जिनियर दिपु उप्रेती, क्षेत्र नं. ८ का स्वतन्त्र उम्मेदवार दिपक खनाल र क्षेत्र नं. १० का स्वतन्त्र उम्मेदवार अधिवक्ता तिलक रिजाल लगाएत विभिन्न स्वतन्त्र अभियान्ताहरुले आ आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमा ठुलो संख्यामा जनसहभागिता थियो ।