नेपालमा वितरण प्रणालीमा सुधार र गुणस्तरीय बिजुली : कुलमान घिसिङ

राष्ट्रिय

काठमाडौँ, २७ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भन्नुभयो, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन ।

देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।” आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उहाँले आफ्नो कार्ययोजना रहेको सुनाउनुभयो । अघिल्लो पटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको भन्दै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “मेरो व्यक्तिगत जीवनकै लागि यो सबैभन्दा ठूलो चुनौती हो । नयाँ जोशका साथ काम गरांै, काँधमा काँध मिलाएर अगाडि बढांै, विगतका भन्दा ठूला सफलता पाउन सकिन्छ ।”

आम जनताको चाहना, प्राधिकरणको आवश्यकता र सरकारको योजनाका कारण आफूले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाएको भन्दै उहाँले यसकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)को गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उहाँले अवकाश पाउनुभएको थियो । आम जनताले प्राधिकरणका पुनः घिसिङ आउनुपर्ने चर्को माग गरेपनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उहाँलाई जिम्मेवारी दिएन । मन्त्रिपरिषद्मा पुगेको पुनः नियुक्तिको प्रस्तावसमेत अस्वीकृत भएको तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा नै बताउनुभएको थियो ।

वितरण प्रणालीको सुधार तथा औद्योगिक क्षेत्रमा बिजुली खपत बढाउने योजनाका साथ आफूले काम गर्ने उहाँको प्रष्टोक्ति छ । यस्तै, बिजुली नपुगेका नागरिकको घरमा बिजुली पुर्‍याउनका लागि सबैका साथ र सहयोग जरुरी रहेको उहाँको भनाइ छ । हाल ९२ प्रतिशत घरधुरीमा बिजुली पुगेको तथ्याङ्क उहाँले पेश गर्नुभयो । बाँकी रहेको स्थानमा पनि एकाध वर्षभित्र बिजुली पुर्‍याउने, तराईका क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि प्रणालीको स्थापाना गर्ने आफ्नो योजना रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

वितरण प्रणालीमा सुधार र गुणस्तरीय बिजुली

यस्तै, गुणस्तरीय बिजुली उपभोग गर्न पाउने नागरिकको अधिकारलाई सकेसम्म सम्बोधन गर्ने उहाँले स्पष्ट पार्नुभयो । देशभित्रै नै बिजुली खपत गर्ने योजनाका साथ काम गर्ने र बढी भएको बिजुली मात्रै भारत तथा बङ्गलादेशको बजारमा पठाउन सकिने उहाँको भनाइ छ । यस्तै, दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको न्यू बुटवल गोरखपुर प्रसारण लाइनको काम समेत छिट्टै शुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई अर्धजलाशयुक्त प्रकृतिका आयोजनामा अगाडि बढ्न आफूले सुझाव दिएको भन्दै त्यस्ता आयोजनाले मात्रै राष्ट्रिय आवश्यकताको सम्बोधन गर्ने उहाँको भनाइ छ ।

काठमाडौँ उपत्यकामा भइरहेको बिजुलीको तार भूमिगत गर्ने काम प्रभावकारी हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । शहरको सौर्दय बढाउने तथा तार र पोलरहित बनाउने उद्देश्यका साथ शुरु गरिएको कार्यक्रम प्रभावकारी बन्न नसेकेको भन्दै उहाँले आजै निर्माण व्यवसायीलाई बोलाएर छलफल गर्ने जानकारी दिनुभयो । प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै पनि कमजोरी हुन नहुने भन्दै उहाँले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डको व्यवस्थासमेत कडाइका साथ लागू गर्ने घोषणा गर्नुभयो ।

गलत गर्नेलाई कुनै पनि हालतमा छुट नदिने र कुनै पनि प्रकारको सम्झौता नगरिने उहाँको दृढता छ । प्राधिकरणलाई अझै सबल संस्था बनाउन सकिने विश्वास व्यक्त गर्दै उहाँले सबै मिलेर काम गरेको खण्डमा सुविधासमेत क्रमशः वृद्धि हुँदै जाने स्पष्ट पार्नुभयो ।

उहाँले आफूलाई कार्यकारी निर्देशकका रुपमा पुनः नियुक्ति दिने नेपाल सरकार, ऊर्जा मन्त्रालय र नेपाली जनतालाई धन्यवाद दिँदै सकारात्मक कामका लागि सबैको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *