रास्वपासँगको एकताले क्षति पुगेको उज्यालो नेपाल पार्टीको दाबी

राष्ट्रिय समाचार

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरिएको १२ दिनको एकताले आफ्नो पार्टीलाई ठूलो क्षति पुगेको बताएका छन्।

रामेछापमा आयोजित उज्यालो नेपाल पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले एकताको अवधि आफूहरूका लागि ‘कोमामा परेको जस्तै’ रहेको टिप्पणी गरे।

‘हामी कोमाबाट फर्किएर आएका छौँ। अब यो पार्टी देशको नेतृत्व गर्नेगरी अघि बढ्छ,’ उनले भने, ‘उज्यालो नेपाल पार्टीको चिनो चिम निरन्तर बलिरहनेछ। यो पार्टी कतै विलय हुँदैन।’

उनले उज्यालो नेपाल पार्टी अन्य दलमा विलय नहुने स्पष्ट पार्दै भने, ‘अरू दलका नेता–कार्यकर्ता यहाँ आउन सक्छन्, तर यो पार्टी आफैँ विलय भएर कतै जानेवाला छैन।’

रास्वपालाई लक्षित गर्दै घिसिङले नयाँ शक्ति आफूहरू मात्रै हो भन्ने भ्रम फैलाइएको आरोप लगाए। ‘नयाँ शक्ति भनेको हामी नै हो भन्ने सोच बनाइएको छ,’ उनले भने, ‘सोसल मिडियामा क्याम्पेन गरेर मात्रै हुँदैन। उज्यालो नेपाल पार्टी नै वास्तविक नयाँ शक्ति हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *