नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडियामार्फत स्टन्टबाजी गर्दै जनतामा भ्रम फैलाइरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उनले रास्वपामा विचार र सिद्धान्तको खडेरी रहेको दाबी गरे। त्यसैका कारण निर्वाचनका बेला सोसल मिडियामा स्टन्टबाजी गर्नु बाहेक अन्य राजनीतिक गतिविधि देखिन नसकेको उनको भनाइ थियो।
‘घण्टी बजाएर मात्रै केही हुनेवाला छैन। अहिले सिद्धान्त र विचारको खडेरी छ, सोसल मिडियामा स्टन्टबाजीको भरमा जनताको दिमाग चाट्ने काम भइरहेको छ,’ प्रचण्डले भने, ‘यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सक्छौं।’
उनले मुलुक र जनताको हितका लागि सबै वामपन्थी शक्तिहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
‘बाँकी रहेका युवा र पुराना सबै कमरेडहरूले सोच्नुपर्छ— हामी सबै मिलेर एउटा विशाल समाजवादी भवन निर्माण गरौं। त्यसले मात्रै देश र जनताको सेवा गर्न सक्छ,’ प्रचण्डले बताए।
