प्रधानमन्त्री प्रचण्ड किन जाँदैछन् खप्तड?

राष्ट्रिय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् । खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन् ।

सो सम्मेलनमा विश्व प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराज लगायतको उपस्थिति रहने छ ।

सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम छ । सो सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण एवं जैविक विविधताको फूलबारी खप्तडमा सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइन्छन्।

त्यहाँ खप्तड राष्ट्रिय निकुञ्ज पनि छ।

यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा थप विकास गर्न सकिने लक्ष्य लिएको सुदूरपश्चिम सरकारले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *