नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशनतिर पार्टी जानै नहुने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै विशेष महाधिवेशनमा गए पार्टी सग्लो नरहन सक्ने उनको भनाइ छ।
उनले भने, ‘विशेष महाधिवेशन गर्न विधानअनुसार हस्ताक्षर दर्ता भइसकेको छ। हामीले नियमित कि विशेष, चुनावअघि गर्ने कि पछि भनेर छलफल महिना दिनसम्म गरिसक्यौँ। तर विशेष महाधिवेशनसम्म जानै हुन्न।’
उनले विशेष महाधिवेशन माग गर्ने हरूको भावना समेटेर क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम सके पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताए। उनले विशेष महाधिवेशन गर्नु भनेको कांग्रेस जंगलभित्र पस्नुजस्तै भएकाले बाहिर निस्कन मुस्किल पर्ने बताए।
उनले मुलुक विषम परिस्थितिमा रहेको बेलामा सभापति शेरबहादुर देउवाले उपसभापतिलाई आशा र भरोसाका साथ कार्यवाहक दिएको बताए।
उनले भने, ‘मुलुकको अवस्थाबारे सूक्ष्म अध्ययन गरेर निर्णायक तहमा पुग्नुपर्ने छ। यो कार्यवाहक सभापतिको चुनौती र अवसर पनि हो।’
