वीर अस्पतालमा अब कोभिडका बिरामीको मात्र उपचार

राष्ट्रिय

रामकुमार प्याकुरेल
काठमाडौं

सरकारले देशकै पुरानो अस्पताल वीर अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको छ । देशभरका विरामी उपचार गर्न आउने यस अस्पतालमा अब कोरोना संक्रमितको मात्र उपचार गरिन्छ । अन्य रोगको उपचार गर्न आउनेलाई नजिकैको राष्ट्रिय ट्रमा सेन्टरमा पठाउने सरकारको योजना छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबारको बैठकले वीरलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले मिडिया ब्रिफिङमा जानकारी दिए ।
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार वीर अस्पतालले अब कोरोना संक्रमितबाहेक अन्य रोगका बिरामीको भर्ना लिने छैन । तर अहिले उपचाररत बिरामी निको भएर डिस्चार्ज नहुँदासम्म अन्यत्र सारिने छैन । ‘१७० जना बिरामी अन्य रोगको उपचार गराइरहेका छन्, उनीहरुलाई अहिले नै सार्न सम्भव छैन’ डा. सेञ्चुरीले भने । राष्ट्रिय ट्रमा सेन्टरमा यी बिरामी अटाउने ठाउँ नभएकाले सार्न नसकिने उनले बताए ।


हाल वीर अस्पतालमा कोरोना संक्रमित र अन्य रोगका बिरामीको सँगसँगै उपचार भइरहेको छ । त्यसका लागि स्वास्थ्यकर्मीको दुई टिम बनाइएको छ । संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अन्य बिरामी जाँच्दैनन् ।
वीरमा हाल स्वास्थ्यकर्मीसहित ६५ जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत छन् । कोरोना संक्रमितको उपचारका लागि १० आईसीयू र १० भेन्टिलेटर छन् ।
मन्त्रालयले कोभिड विशेष अस्पताल बनाउने निर्णय गरेपछि वीर अस्पतालले आइसोलेसन बेड थप्ने तयारी गरेको छ । ३ दिनभित्र ११० जना अट्ने आइसोलेसन बेड बनाउन सकिने निर्देशक डा. सेञ्चुरी बताउँछन् । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ ।


२ हप्ताभित्र ३०० बेडको आइसोलेसन बनाउन सकिने उनले जानकारी दिए । वीरमा उपचाररत अरु बिरामी निको भई डिस्चार्ज भएपछि कोरोना संक्रमितको उपचारका लागि २६ वटा आईसीयू र २६ भेन्टिलेटर प्रयोग हुनेछ ।
ओपीडी सञ्चालन हुने कोभिड विशेष अस्पताल बनाए पनि वीर अस्पतालले बहिरंग (ओपीडी) सेवा र इमर्जेन्सी सेवा भने दिनेछ । त्यहाँ आउने बिरामीको लक्षण र यात्रा विवरणका आधारमा स्वाब संकलन गरी कोरोना परीक्षण हुनेछ ।
यदि कोरोना संक्रमित पुष्टि भएमा वीर अस्पतालकै आईसीयूमा राखिनेछ भने रिपोर्ट नेगेटिभ आएमा ट्रमा सेन्टरमा पठाइने डा. सेञ्चुरीले बताए । रिपोर्ट नआउँदासम्म सम्भावित संक्रमितलाई राखिने छुट्टै वार्डमा राखिने उनको भनाइ छ ।
वीर अस्पतालमा सामान्यदेखि जटिलसम्म सबैजसो रोगको उपचार हुँदै आएको थियो । गाउँका सर्वसाधारणले कम शुल्कमा सबैजसो रोगको उपचार गर्न पाउने यस अस्पताललाई कोरोना संक्रमितको उपचारमा मात्र लगाउँदा अन्य रोगका बिरामीले उपचार गर्न नपाउने अवस्था आउने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *