गगन थापा: नेतृत्व परिवर्तनसहित चुनावमा जान प्रस्ताव गर्दा देउवाले अस्वीकार गरे

समाचार

नेपाली कांग्रेसका निष्कासित महामन्त्री गगन थापाले आगामी निर्वाचनमा परिवर्तन भएको कांग्रेसका साथ जनतामाझ जानुपर्ने प्रस्ताव सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यसमितिले निष्कासन गरेपछि विशेष महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले नेतृत्व परिवर्तन गरेर चुनावमा जानुपर्ने माग मात्र आफूहरूको रहेको स्पष्ट पारे। सभापति देउवाको सट्टा जो भए पनि नेतृत्व अगाडि सारेर निर्वाचनमा जान आफूहरू तयार रहेको उनको भनाइ थियो।

थापाले आफूलाई नै प्रधानमन्त्रीको उम्मेदवार वा सभापति बनाउनुपर्ने विशेष महाधिवेशन पक्षधरको कुनै अडान नरहेको दाबी गरे। उनले शेखर कोइराला, पूर्णबहादुर खड्का वा अन्य कुनै नेतालाई नेतृत्वमा अघि सार्दा पनि आफूहरूको सहमति रहने बताए।

उनले भने, “विशेष महाधिवेशनको हलबाट कसलाई नेतृत्वमा ल्याउने हो, त्यहीँ तय गरौँ भनेको हुँ। फागुन २१ गते निर्वाचनमा जाँदा कांग्रेसले भदौ २३ अघिका केही विषय बिर्सेर नयाँ सन्देशसहित आएको छ भनेर जनतामाझ भन्न सकियोस् भन्ने हाम्रो चाहना हो। यो म सभापति बन्ने विषयसँग जोडिएको होइन।”

आफू हाल महामन्त्री रहेको र विश्वप्रकाश शर्मा पनि महामन्त्री नै रहेको उल्लेख गर्दै थापाले नेतृत्वको विषय आफूहरूको प्राथमिकता नभएको बताए। “हामी चुनाव लड्छौँ भन्ने कुरा हो। ६–७ स्थानबाट उम्मेदवारी दिन आउनुहोस् भनेका थिए। हाम्रो व्यक्तिगत विषयमा चिन्ता गर्ने कुरा होइन,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *