पार्टी फुटाएर तपाईं माओवादीमा जान सुहाउँछ ? नेपाललाई खनालको प्रश्न

राष्ट्रिय

सुकेधारमा जारी केन्द्रीय समिति बैठकमा पार्टी एकताका सवालमा आफ्नो धारणा राख्दै नेता खनालले अहिले पार्टी एकता गर्ने समय नभएर क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला रहेको बताए ।

‘पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस्’, बैठकमा खनालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने– ‘होइन भने यो एकीकरणको बेला होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो ।’

नेता खनालले माओवादीभित्र धेरै समस्या रहेको भन्दै उनीहरूभित्रै मतभेद रहेको बेला एकता गर्नु उचित नहुने धारणा राखे । ‘उनीहरूभित्रै राजनीतिक, सैद्धान्तिक मतभेद छ । त्यो नमिलाई पार्टी चलाउन पनि सकिएन, पैसा पनि छैन, कार्यालय पनि तोडफोड भयो भनेर जान खोजेको हो भने भन्नु केही छैन’, खनालले माधव नेपाललाई प्रश्न गर्दै भने- ‘एमालेसँग विद्रोह गर्दा हामीले चार वर्षसम्म माधव कमरेडलाई साथ दिएको हो अब अहिले माधव कमरेडले छाडेर जान सुहाउँछ ? यो पार्टी फुटाएर तपाई माओवादीमा जान सुहाउँछ ?’

नेता खनालले जेनजी विद्रोहको सन्दर्भमा अध्यक्ष नेपालको प्रतिवेदनमा आएका विषयहरू समेत सतही भएको टिप्पणी गरे । ‘जेनजी विद्रोहबारे अध्यक्षको प्रतिवेदनमा जे आयो त्यसले कुनै गहिराई समातेको छैन’, खनालको भनाइ थियो । उनले नेकपाको दुई तिहाइको सरकार हुँदादेखि नै राम्रोसँग काम गर्न नसक्दा अहिलेको दुर्दशा निम्तिएको बताए ।

नेता खनालले अध्यक्ष नेपाललाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको अवस्थामा पार्टी अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिए । ‘त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौ । तसर्थ उहाँले अध्यक्षबाट राजीनामा दिनुपर्छ’, खनालको भनाइ थियो ।

खनालअघि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी एकता गर्दा संविधान संशोधनको विषयलाई समेत ध्यानमा राखेर गर्नुपर्ने धारणा राखे । ‘त्यतिकै गरिने एकताले परिणाम ल्याउँदैन, त्यो थाहा छ तर अब आफ्नो पार्टी पनि नचलाउने, एकता पनि नगर्ने भनेर कहाँ पुगिन्छ र ?’, प्रश्न गर्दै पाण्डेले भने– ‘यसैपनि हाम्रो पार्टी सकिन लागेको छ । पार्टी चलाउन सकिएको छैन । चलाउन नसकेपछि अर्कोलाई बुझाउनैपर्छ ।’

पाण्डेपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले बोलेका छन् । खतिवडाले पार्टी एकता अहिलेको आवश्यकता भन्दै एकताबाट पछि हट्न नहुने धारणा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *