सिंहदरबारका सरकारी कर्मचारी बोक्न दैनिक २ वटा बस चल्ने, रुट तोकियो

राष्ट्रिय

अर्थ मन्त्रालयले सिंहदरबार र आसपासका सरकारी कार्यालयमा कार्यरत कर्मचारी बोक्न दैनिक दुई वटा बस सञ्चालन गर्ने भएको छ । यस्तो बसमा जुनसुकै कार्यालयका कर्मचारी समेत चढ्न सक्ने भएका छन् । यसलाई मन्त्रालयले ‘एकीकृत निजामती कर्मचारी परिवहन सेवा’ नाम दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार दैनिक दुई पटक ओसार पसार गर्ने गरी यस्ता बस चल्ने भएका छन् । सोही प्रयोजनका लागि मन्त्रालयले ४० सिट क्षमताका नयाँ मोडलका बस सञ्चालन गर्न यातायात सेवा प्रदायक संस्थासँग प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले १६ दिनको समय राखेर प्रस्ताव आह्वान गरेको हो ।

मन्त्रालयका अनुसार एकीकृत निजामती कर्मचारी परिवहन सेवा बिहान कार्यालय समय भन्दा १५ मिनेट अगाडि (९ः४५ बजे) सिंहदरबारको दक्षिण गेटमा आइपुग्नेछ । बेलुका कार्यालय समयभन्दा १५ मिनेट पछि (५ः१५ बजे/शुक्रबार ३ः१५ बजे) बस छुट्ने छ । यस्तो सेवा चालु आर्थिक वर्षभर नै निरन्तर रहने समेत अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार यस्ता बस दैनिक रुपमा चुस्त, दुरुस्त, चालु र सफा राख्नु पर्ने छ । सञ्चालनमा आएका बस बिग्रिएमा त्यसको वैकल्पिक व्यवस्था गरी सेवा भने नियमित दिनुपर्नेछ । यस्तो व्यवस्था सेवा प्रदायकबाटै हुनुपर्ने मन्त्रालयको शर्तमा तोकिएको छ । मन्त्रालयले एकीकृत निजामती कर्मचारी परिवहन सेवाको गुणस्तर, नियमितताको बारेमा अनुगमन गर्ने भएको छ । तोकिए बमोजिमको सेवाको गुणस्तर नदिए सम्झौता बमोजिम कारवाही हुने समेत मन्त्रालयले जनाएको छ । अहिले विभिन्न निकायले छुट्टाछुट्टै यातायातका साधन प्रयोग गरी कर्मचारीलाई ओसार पसार गरिरहेका छन् ।

यी हुन् रुट

१. सिंहदरबार–सहिदगेट–त्रिपुरेश्वर–कालिमाटी–कलंकी–स्वयम्भु–टंकेश्वर–कालिमाटी–त्रिपुरेश्वर–थापाथली–सिंहदरबार

२. सिंहदरबार–नयाँ बानेश्वर–कोटेश्वर–बालकुमारी–सातदोबाटो–लगनखेल–एकान्तकुना–जावलाखेल–पुल्चोक–कुपण्डोल–सिंहदरबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *