बञ्चरेडाँडामा फोहोर फाल्न को लागी जुट्यो सहमति, १५ दिनमा माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

राष्ट्रिय

 सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री घिसिङको यो प्रतिबद्धतापछि फोहोर फाल्न दिन स्थानीय सहमत भएका छन् ।

स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए । काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो । शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिएता पनि निष्कर्षविहीन भएको थियो ।

त्यसपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए ।

स्थानीयबासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी गराए ।

अध्यक्ष तामाङले  यस्तो भनेका छन्  ‘अहिलेसम्म निर्णय गरिएका र हुन नसकेका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता मन्त्री ज्यूले गर्नुभएको छ । कुनै कारणले त्यो अवधिभित्र पनि सहमति कार्यान्वयन हुन नसके तपाईहरुको विरोध गर्ने अधिकार त छँदैछ भन्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *