महराको राजीनामा कि निलम्बन ?आजै भेटेर टुंगो लगाउने माओवादीको निर्णय

समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउनेबारे उनैसँग सल्लाह गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको पदाधिकारी बैठकले महरालाई भेटेरै उनीसँग राजीनामाको बारे छलफल गर्ने निर्णय गरेको हो । दिउँसो महरालाई अस्पतालकै हिरासतमा भेटेर नेताहरुले कुरा गर्ने समझदारी भएको एक पदाधिकारीले बताए ।

उनले भने–अब आरोपको बारेमा न्यायिक प्रक्रियाबाट किनारा नलागेसम्म उहाँले राजीनामा गर्ने राम्रो विकल्प हो भन्ने कुरा आएको छ । दिउँसो महासचिव वा अन्य नेताले भेटेर कुरा गर्ने अनि राजीनामा दिए स्वीकृति हुन्छ । नत्र निलम्बन गर्नुपर्छ भन्ने कुरा आएको छ ।

स्रोतका अनुसार बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले महराले सुन तस्करीमा संलग्न भनिएका व्यक्तिहरुसँग फोनमा सम्पर्क गरेको र भन्सार अधिकृतसँग फोनमा कुरा गरेबाहेक उनी तस्करीमा संलग्न हुने कुनै आधार नदेखिएको अनुसन्धान अधिकारीहरुले आफूलाई बताएको ब्रिफिङ गरेका थिए ।

बैठकका सहभागीहरूका अनुसार केही नेताले प्रश्न उठेपछि यसको टुंगो नलागेसम्म निलम्बन गर्न उपयुक्त हुने सुझाव दिएका थिए । केहीले भने महरामाथि अन्याय भएको र कसैसँग टेलिफोन कुराकानी वा फोटो खिचेका आधारमा पक्राउ गर्दै राजनीतिक जीवन सिध्याउने हो भने कुनै पनि नेता बाँकी नरहने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *