एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल

शिक्षा/स्वास्थ्य

अब माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार कुनै विषयमा ३५ % भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन् । निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यो पटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक रुपमा गरिएको छ ।

ग्रेडका आधारमा प्रयोगतात्मकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड ल्याउन नसक्ने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । मूल प्रमाणपत्र पाउन नसक्ने विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा तोकिएको ग्रेड पाउन नसकेका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि तोकिएको ग्रेड पाउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।

निर्देशिका अनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र संपरीक्षण अङ्कमा गरिनेछ । परीक्षण र संपरीक्षणबाट प्राप्त अङ्क (ग्रेड सिटमा सैद्धान्तिक र आन्तरिकको छुट्टाछुट्टै अङ्क) ग्रेडमा रुपान्तरण हुनेछ ।

 

अक्षराङ्कन (ग्रेडिङ) विधिले सिकाइको गुणस्तर खस्किएको आवाज उठेपछि सरकारले ‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको थियो । विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने सिफारिस गरेको थियो ।

कार्यदलको सिफारिस अनुसार नै सरकारले सैद्धान्तिक र प्रयोगात्मक विषयमा न्यूनतम अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको हो ।

यस अघिसम्म अक्षराङ्कन (ग्रेडिङ) विधिमा सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर आउने कुल अङ्कको आधारमा मात्र ग्रेडिङ गर्ने गरिएको थियो । यसो गर्दा विद्यार्थीले सैद्धान्तिक वा प्रयोगात्मकमध्ये एउटा पक्षमा मात्र धेरै अंक ल्याउँदा पनि उतीर्ण हुने अवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *