मनमोहन स्मृति प्रतिष्ठानले ‘राष्ट्रव्यापी मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३’ आयोजना गर्ने

कला-साहित्य राष्ट्रिय

मनमोहन स्मृति प्रतिष्ठानले स्वर्गीय मनमोहन अधिकारीको २७औँ स्मृति दिवसको अवसरमा ‘राष्ट्रव्यापी  मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३’ आयोजना गर्ने घोषणा गरेको छ। प्रतिष्ठानले देशभरका कवि तथा स्रष्टाहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठले स्वर्गीय मनमोहन अधिकारीको जीवनसंघर्ष, सादगीपूर्ण नेतृत्व, सामाजिक न्यायप्रतिको प्रतिबद्धता र समतामूलक समाज निर्माणको दृष्टिलाई साहित्यमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले निर्धारित समयसीमाभित्र कविता पठाउन आग्रह गर्नुभएको छ ।

प्रतियोगितामा सहभागी कविता मनमोहन अधिकारीको जीवन, योगदान र विचारलाई केन्द्रमा राखेर लेखिएको हुनुपर्नेछ। कविता नेपाली भाषामा प्रिति फन्टमा कम्प्युटर टाइप गरिएको तथा अधिकतम १५० शब्दभित्र एकै लयमा तयार गरिएको हुनुपर्नेछ । रचना पूर्ण रूपमा मौलिक र यसअघि कुनै पनि माध्यममा प्रकाशन वा प्रसारण नभएको हुनुपर्नेछ ।

कुनै व्यक्ति, जाति, लिंग, समुदाय, धर्म, भाषा वा क्षेत्रप्रति अपमानजनक वा अश्लील अभिव्यक्ति प्रयोग गरिएको कविता स्वीकार गरिने छैन । मापदण्ड नपुगेका तथा ढिला आएका रचना स्वतः अयोग्य हुने जनाइएको छ ।

प्राप्त कविताहरूलाई कोडिङ प्रणालीमार्फत गोप्य रूपमा मूल्यांकन गरिनेछ । उत्कृष्ट तीन कविलाई २०८३ वैशाख १२ गते काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा कविता वाचन गर्ने अवसर प्रदान गरिनेछ।

प्रतियोगितामा प्रथम हुनेलाई प्रमाणपत्रसहित ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ  ।

इच्छुक स्रष्टाहरूले २०८२ चैत २० गतेभित्र मनमोहन स्मृति प्रतिष्ठानको कार्यालय, सानेपा, ललितपुरमा कविता बुझाउन वा इमेलमार्फत पठाउन सक्नेछन् ।
इमेल: manmohanmf@gmail.com
सम्पर्क नम्बर: ०९८४४४४६६९९ / ९८५११६२६४५

प्रतिष्ठानले सम्पूर्ण साहित्यप्रेमी तथा स्रष्टाहरूलाई प्रतियोगितामा सहभागी भई स्वर्गीय मनमोहन अधिकारीप्रतिको सम्मान अभिव्यक्त गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *