नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको दुई दिने राष्ट्रिय भेला भोलिदेखि सुरु हुने भएको छ । राष्ट्रिय भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभागृहमा बिहान ११ बजे उद्घाटन गर्ने छन् ।
भेलाले वाईसीएलको नयाँ नेतृत्व छनोट गर्ने छ । गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन सकेको थिएन । छिटै अर्को भेला गर्ने गरि सुमन देवकोटो संयोजक र सुवोद शेपाईली सहसंयोजक भएको राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो ।
भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुनेछ । जसका लागि करिब ५ सय प्रतिनिधि काठमाडौंमा आइसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उम्मेर हदका कारण संयोजक देवकोटाले वाईसीएलबाट विदा लिनुपर्ने भएकाले अध्यक्षमा यसअघिका सहसंयोजक सुवोध शेपाईली हुने निश्चित जस्तै छ । वाईसीएलमा ४० वर्षे उम्मेर हदको व्यवस्था छ ।
देवकोटालाई संयोजक बनाउँदा पनि उनलाई पछि अध्यक्ष बनाइने आश्वासन दिएकाले शेपाईली अध्यक्षमा निश्चित जस्तै भएका हुन । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन ।
अध्यक्षमा शेपाईली निश्चित जस्तै हुँदा महासचिवमा भने धेरै दावेदार देखिएका छन् । महासचिवमा ज्ञानबहादुर गुरुङ ‘कसम’, गणेश शाही, र मिङ्मा डन्डु शेर्पाको बलियो दावेदारी छ । गुरुङ र शाही माओवादी केन्द्रका बैकिल्प केन्द्रीय सदस्य समेत हुन ।
वाईसीएलमा अध्यक्ष, ९ उपाध्यक्ष, महासचिव, २३ सचिव र कोषाध्यक्ष हुने व्यवस्था छ । विधान संशोधन गरेर उपमहासचिव समेत थप्नुपर्ने आवाज समेत उठेकाले सचिवको संख्या केही घट्न सक्ने समेत वाईसीएल नेताहरुले बताएका छन् ।