दुर्गा प्रसाईंको घोषणा मङ्सिर ७ देखि देशव्यापी आन्दोलन

राष्ट्रिय

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।

यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको उनले स्पष्ट पारेका हुन्। प्रसाईंका अनुसार यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा हुनेछ।

बुधबार मानव अधिकार आयोगका अध्यक्ष  सँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आन्दोलन मङ्सिर ७ गतेदेखि नै सुरु हुने कुरा आजै भन्नुपरेको बताए। बिचमा मानिसहरू अलमलमा परेकोले यो घोषणा गर्नुपरेको उनको भनाइ थियो।

मङ्सिर ७ गतेको महत्त्वबारे प्रसाईंले भने, ‘यो दिन दिल्लीमा दलहरू र विद्रोही माओवादीबिच १२ बुँदे सम्झौता भएको थियो। त्यही १२ बुँदे सहमतिका कारण देशमा राजसंस्था गयो, हिन्दु अधिराज्य गयो, र आज नेपाली नागरिक विदेश गएर देश खाली भएको तथा विदेशीहरूको इसारामा एनजीओ र आईएनजीओका सरकारहरू चलेको छ।’

यो अभियान पशुपति र माता दुर्गालाई जोगाउने तथा घर छोडेर विदेश गएका नेपाली छोराछोरीलाई घर फर्काउने अभियान भएको उनले बताए। उनले सबै नेपाली नागरिकलाई यो व्यवस्था परिवर्तन गर्न आह्वान गर्दै मङ्सिर ७ गतेको आन्दोलनको लागि तयार रहन आग्रह गरे।

उनले आन्दोलन लगभग २० दिनपछि सुरु हुने भएकाले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न सूचित गरे। मानव अधिकार आयोगलाई पनि आन्दोलनको अग्रिम जानकारी गराएको उनले बताए।

आन्दोलन र तोडफोडबारे स्पष्टोक्ति
आन्दोलनका क्रममा कसैले बन्द उल्लङ्घन गरेर दोकान खोल्छ भने तोडफोड भएमा, गाडी फुटाएमा वा आगो लगाएमा त्यसको जबाफदेही महाअभियान नहुने प्रसाईंले बताए। उनले चैत १५ गतेको घटनामा पनि घुसपैठ भएको दाबी गर्दै आफ्नो अभियानको उद्देश्य कसैको घर जलाउने नभएको स्पष्ट पारे।

उनलाई सरकारले वार्ताको लागि आह्वान गरेको र थुन्ने कुरा मिडियामा आए पनि आफू भाग्ने अवस्थामा नरहेको र अब नभाग्ने उनले बताए। मानव अधिकार आयोगका अध्यक्षले पनि ‘तपाईंले उठाउनुपर्ने माग हामीले उठाउनुपर्ने हो दुर्गाजी’ भनेको उनले दाबी गरे।

उनले मङ्सिर ७ गतेदेखि व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन नहुने भन्दै सम्पूर्ण मानवअधिकारवादी, पत्रकार, र देश तथा विदेशमा रहेका सबै नागरिकलाई साथ दिन आह्वान गरे। उनले निजामती कर्मचारी र प्रहरीलाई पनि मङ्सिर ७ गतेदेखि बिदा बस्न अनुरोध गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *