काठमाडौं– १९ महानगरपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन, महानगरमा शुक्रबार शोक विदा

राष्ट्रिय समाचार

काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ ।

क्यान्सरबाट पीडित ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो । उनले क्यान्सरको उपचार यहीँ गराउँदै आएका थिए ।

२०१३ साल पुस १४ गते जन्मिनु भएका श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । यसै उपचारका क्रममा उहाँलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।पञ्चायतकालमा वडा सदस्यका रूपमा निर्वाचित श्रेष्ठले विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका रूपमा विजयी हुनुभएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले शुक्रबार एक दिन शोक विदा दिने भएको हाे । उनको शव विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिने छ ।

विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने, वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिए । श्रेष्ठका श्रीमती ३-छोरी र १-छोरा छन् ।

उहाँको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

यसैगरी उपप्रमुख हरिप्रभा खड्गीले महानगरले ठूलो क्षति व्यहोर्नुपरेको जनाउँदै मृतात्माको चीर शान्तिको कामना गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *